काठमाडौँ - गजलकार प्रदीप रोदन आफ्नो गजल सुनाउन यूएई पुगेका छन्। गएको आइतबार रोदनले 'सिर्जना वाचन डबली' यूएईकाे आयोजना र 'अन्तर्राष्ट्रिय नेपाली समाज' यूएईकाे सह-आयोजनामा सम्पन्न भएको कार्यक्रममा करिब २ दर्जन गजल वाचन गरेका थिए।
कार्यक्रममा सुनाइएका अधिकांश गजलका सेरहरू यसअघि नै फेसबुक, युट्युब र टिकटकमा पढिएको र सुनिरहेको भए पनि प्रत्यक्ष सुन्नको मज्जा बेग्लै हुने रैछ भन्ने अनुभव सहभागीले सुनाएका छन्।
दुबईको एभरेष्ट क्लबको हलमा कार्यक्रम सम्पन्न कार्यक्रममा २०० भन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ। रमेश क्षितिज र भवानी नेपालले संचालन गरेको कार्यक्रममा गजलकार प्रदीप रोदनका गजलले माहोल तताएको थियो।
कार्यक्रममा अटल उपेन्द्र, समर चेम्जोङ आभास, सरोज सङ्गम, इन्धन डिवि भण्डारी, सुरज राना, डि एल घिमिरे, डि के किराँती, सरु शीतल राई, विष्णु प्याकुरेल, नकुल पौडेल, राजयात्री लम्साल, भुवन कुमार वाग्ले आनन्द, सोनी भण्डारी, ओम कुमारी खाँड, हरिहर कँडेल, घायल दीपक कार्की, बिलासी मान्छे, रमन सुवेदी, सन्दिप रेग्मी, राजन अधिकारी लगायतले आ-आफ्नो रचना वाचन गरेका थिए।
गोरखामा जन्मिएका प्रदीप रोदन पछिल्लो समय निकै रुचाइएका गजलकार हुन्। रोदनको फेसबुकमा ३१ हजार ६ सय ८८ फलोअर्स छन्। टिकटकमा उनलाई एक लाख २० हजार भन्दा बढीले फलो गरेका छन्।