काठमाडौँ - फिफा विश्वकप कतार २०२२ अन्तर्गत स्पेनले बार्सिलोनाका युवा लेफ्ट ब्याक आलेहान्द्रो बाल्डेलाई टोलीमा समावेश गरेको छ। प्रशिक्षक लुइस एनरिकेले भ्यालेन्सियाबाट खेल्दै आएका जोसे गया घाइते भएपछि उनको स्थानमा बाल्डेलाई समेटेका हुन्।
एनरिकेले गाया चोटबाट ठिक भएर फिटनेस प्राप्त गर्न समय लाग्ने देखेपछि उनको स्थानमा १९ वर्षीय बाल्डेलाई बोलाएका हुन्। बार्सिलोनाबाट स्पेनको टोलीमा पर्ने उनी चौथो यू-२१ खेलाडी हुन्।
एनरिकेले यसअघि १९ वर्षीय गाभी, १९ वर्षीय पेड्री र २० वर्षीय अन्सु फातीलाई पनि समेटेका छन्। बार्सिलोनाका ८ खेलाडी स्पेनको टोलीमा रहेका छन्। ४ युवा खेलाडीसँगै एरिक गार्सिया, जोर्डी अल्बा, कप्तान सर्जियो बुस्केट्स र फेरान टोरेस स्पेनी टोलीमा रहेका छन्।
बाल्डेले अब स्पेनमा सुरुवाती रोजाइका लागि नै प्रतिस्पर्धा गर्नेछन्। क्लब फुटबलमा बार्सिलोनाका लागि अल्बाभन्दा अघि रोजाइमा रहेका उनी राष्ट्रिय टोलीमा अनि लय कायम राख्ने प्रयासमा हुनेछन्।
स्पेनको टोलीमा
गोलरक्षक - उनाइ सिमोन, रोबर्ट सान्चेज, डेविड राया
डिफेन्डर - सेजार एज्पिलीक्वेटा, ड्यानी कार्भाजल, एरिक गार्सिया, ह्युगो गुइलामोन, पाउ टोरेस, एमेरिक लापोर्ट, जोर्डी अल्बा, आल्हान्द्रो बाल्डे (घाइते जोसे गयाको स्थानमा)
मिडफिल्डर - सर्जियो बुस्केट्स, रोड्री, गाभी, कार्लोस सोलेर, मार्कस लोरेन्टे, पेड्री, कोके
फरवार्ड - फेरान टोरेस, निको विलियम्स, येरेमी पिनो, अल्भारो मोराटा, मार्को एसेन्सियो, पाब्लो सराबिया, ड्यानी ओल्मो, अन्सु फाती