मिथिला माध्यमिकी परिक्रमाको उल्लास

महोत्तरी - मिथिला अहिले महाशिवरात्रि पर्वको उल्लासमा छ। यहाँका शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढेको छ। शिवालय सरसफाइ र महाशिवरात्रिको मङ्गल कामनासहित सोमबार शोभा कलशयात्रा आयोजना गरिएका छन्। महाशिवरात्रिको समापनसँगै मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको देखिँदो छ।

जलेश्वरस्थित जलेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमाको मगरथानास्थित मङ्गलनाथ र बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर वरिपरि बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएका छन्। शिवालयमा आज एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएका जलसेचन गर्नेछन्। सामान्यतया तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन्। जताततै शिव महिमाका भजन गुञ्जिएका छन्।

महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा प्रारम्भ गरिन्छ। फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित श्री रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्निकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोलाअघि लगाइन्छ। यो यात्रामा बाजागाजासाथ श्री जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउहरु गङ्गासागर र धनुषसागरको प्रदिक्षण गर्दै धनुषाकै हनुमानगढीमा रात्रिबास गरिन्छ। यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ।

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको मटिहानीमा चौथो दिन यात्रीटोली पुग्ने परम्परा छ। यसअनुसार पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बाससँगै महोत्तरीको यात्रा पूरा हुन्छ। त्यसैगरी धनुषामा प्रारम्भको पहिलो दिन हनुमानगढी, नवौँ दिन पर्वता, १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखर, १२ औँ दिन औरही र अन्तिम १५ औँ दिन जनकपुरको रङ्गशाला मैदानमा गरी छ रात्रिबासको परम्परा छ। जम्मा १३३ किलोमिटर वृत्तमा परिक्रमा गरिने यो धार्मिक यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबास गरिन्छ। दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर (गिरिजास्थान), १३ दिन करुणा र १४ औँ दिन विसौल रात्रिबासको परम्परा छ। यस यात्रामा २६ किमी दूरी भारतमा र बाँकी नेपालका महोत्तरी र धनुषा जिल्लामा पर्दछन्। मधेश प्रदेशसभाले गत माघ ३ गते प्रदेशको राजधानी जनकपुरधाम तोक्दा नेपालतर्फका परिक्रमाभित्रका भूभाग समेटेर परिभाषित गरेको छ। यसले माध्यमिकी परिक्रमाको महत्व उजागर गरेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन्।

मिथिलाको हिन्दू परम्परामा भगवान् शिव र विष्णु लक्ष्मीका अवतार मानिने श्रीराम र सीता समानरुपले पूज्य छन्। महाशिवरात्रि पर्वमा रामसीताका मन्दिरमा माङ्गलिक उत्सव मनाइन्छ। त्यसैगरी त्रेता युगमा विवाहपश्चात् राम जानकीले विहार गर्दै मिथिला परिक्रमा गरेका सम्झनामा आयोजना हुँदै आएको मिथिला माध्यमिकी परिक्रमाका चार सुरमा प्रसिद्ध शिवालय छन्। यात्रीले यी शिवालयको प्रदक्षिणा गर्ने परम्परा छ। पूर्वमा कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन्।

शिवले आफ्ना इष्टदेवमा भगवान् रामको र श्रीरामले शिवको आराधना गरेका प्रसङ्ग रामायण र शिवपुराणमा भेटिनुले हिन्दू परम्परामा यी दुवै देवको समान पूजाआराधना परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउँछन्। अहिले महाशिवरात्रि पर्वको तयारीमा रहेका मैथिललगत्तै सुरु हुने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि पूर्वतयारी गर्दैछन्। मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई रात्रीबासमा स्थानीयले बासस्थान, भोजन, पानी, प्राथमिक स्वास्थ्योपचारको प्रबन्ध गर्ने चलन छ।  यसबाहेक बाटोमा पर्ने बस्तीमा यात्रीको पाउ पखाल्ने, शीतल जल सर्वतले स्वागत गर्नेको लामो लाम देखिन्छ।

मिथिलामा महाशिवरात्रि र माध्यमिकी परिक्रमा आपसी द्वेष हटाउन, मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने पर्व मानिन्छन्। परिक्रमा समापनसँगै उल्लासको पर्व फागु मनाइने हुँदा यी पर्व मन रमाउनकै लागि पनि मैथिलको पर्खाइमा पर्ने गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×