काठमाडौँ - पोर्चुगलले विश्वकप फुटबलअघि भएको मैत्रीपूर्ण फुटबल खेलमा जित निकालेको छ। पोर्चुगलले नाइजेरियालाई ४-० गोलले पराजित गरेको हो।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले २ गोल गरेका थिए। त्यस्तै, गोन्कालो रामोस र जोआओ मारियोले गोल गरेका थिए। पहिलो हाफमा २ गोल गरेको पार्चुगलले दोस्रो हाफमा थप २ गोल गर्दै जित निकालेको हो।
खेलको नवौँ मिनेटमा नै फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई १-० गोलको अग्रता दिलाए। ३५औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २-० को अग्रता दिलाए।
खेलको ८२औँ मिनेटमा रामोस र ८४औँ मिनेटमा मारियोले गोल गर्दै नाइजेरियाविरुद्ध पोर्चुगललाई ४-० को जित दिलाए। नाइजेरियाविरुद्धको यो मैत्रीपूर्ण खेलमा नियमित कप्तान क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन्। विश्वकप फुटबलमा रोनाल्डोको कप्तानीमा पोर्चुगलले खेल्दैछ।