काठमाडौँ - मेम्फिस डिपाएको दुई गोल मद्दतमा नेदरल्याण्ड्सले यूईएफए नेसन्स लिगमा बेल्जियमलाई हराएर शानदार सुरुआत गरेको छ।
लिग ए को समूह चार अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सले बेल्जियमलाई ४-१ ले पराजित गरेको हो। डच टोलीका लागि डिपाएले ५१औं र ६५औं मिनेटमा गोल गरेका थिए। यस्तै स्टेभेन बर्जविनले ४०औं र डेन्जल डम्प्राइजले ६१औं मिनेटमा गोल गरेका थिए।
बेल्जियमका लागि मिची बात्सुईले इन्जुरी टाइममा सान्त्वना गोल फर्काउन सफल भए।
जितपछि यस समूहमा गोल अन्तरमा नेदरल्याण्ड्स नै शीर्ष स्थानमा रहेकाे छ।