काठमाडौँ - आज बुधरबार देशैभर बदली भइ पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि मध्य नेपाल, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने संभावना छ। लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरु पनि बन्द हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन्।
यस्तै, यस वर्षको दशैँ वर्षामय हुने भन्दै सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन्। विज्ञहरुले टीका लगाउन जाँदा खहरे खोलानालाहरुमा सावधानी अपनाउन आग्रह गरेका छन्।
नेपालमा दक्षिण पश्चिम बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ। आजदेखि आउँदो शनिवार तीन दिनसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान छ। बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।