काठमाडौँ - ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टल टलक्कै’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ।
सिनेमाका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुसालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टको नृत्य रहेको छ। गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
प्रदीप भारद्वाजको पटकथा रहेको सिनेमामा केकी अधिकारी, मुकुन भुषाल, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय रहेको छ। यो सिनेमा भदौ १७ देखि प्रदर्शनमा आउदैछ।
भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाले दुई दाजुभाई र देउरानी(जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक देउजाले यसलाइ सपरिवार हेर्न मिल्ने सिनेमा भनेका छन् ।
कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।
सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।