झापा - झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ।
कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन्।
‘नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरूप बाख्रा वितरण गरिएको हो,’ उनले भने, ‘विक्रम संवत् २०७४ सालयता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ।’ बाख्राको खोर निर्माणका लागि मात्र ४१ लाख रुपैयाँ खर्च भएको उनले बताए।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर उकास्न कार्यक्रम ल्याइएको बताए। ‘यस कार्यक्रमबाट धेरै कृषकले लाभान्वित हुनुभएको छ,’ उनले भने।
कुनै पनि कारणले बाख्रा मर्यो भने त्यसको प्रमाणसहित आएमा अर्को बाख्रा उपलब्ध गराइने उनले बताए।
नगरपालिकाले ८ नम्बर वडामा १५ जना कृषकलाई ३ वटाका दरले ४५ वटा र किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरेको छ। यसअघि बाख्रा प्राप्त गरेको ७ नम्बर वडाको श्रीजंघा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्वअनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो।