वेष्ट इण्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारत विजयी

काठमाडौँ - अक्षर पटेलको अलराउन्ड प्रदर्शनप्रेरित भारतले आइतबार राति वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २ विकेटले हराएको छ। योसँगै भारतले ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-० ले जितेको छ।

ट्रिनिडाडस्थित क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो। ३१२ रनको लक्ष्य भारतले २ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको हो।

भारतका अक्षर पटेलले अविजित ६४ रन बनाए। पटेलले ३५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए। श्रेयस ऐयरले ६३ रन जोडे। सन्जु सामसनले ५४ रनको योगदान गरेका थिए। शुभमन गिलले ४३, दीपक हुडाले ३३ रन जोडे। शिखर धवनले १३ र आभास खानले १० रन बनाएका थिए।

वेस्ट इन्डिजका अल्जारी जोसेप र केली मेयर्सले समान २ विकेट लिए। जायदेन सिल्स, रोमारियो शेफर्ड र अकिल होसेनको नाममा १/१ विकेट रह्यो।

त्यसअघि, वेस्ट इन्डिजका लागि शाई होपले ११५ रन बनाएका थिए। वेस्ट इन्डिजबाट १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका होपले १३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो १३औँ शतक हो।

वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले ७४, काइल मायर्सले ३९, शामरहब्रुक्सले ३५ रन बनाए। रोभमन पावेलले १३ रन जोड्दा शेफर्डले अविजित १४ रन बनाए।

भारतका शार्दुल ठाकुरले ३ विकेट लिए। हुडा, पटेल र युजभेन्द्र चाहलले १/१ विकेट लिएका थिए।

अन्तिम एकदिवसीय खेल आउँदो बुधबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×