काठमाडौँ - नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष राससका कार्यालय सहायकद्वय मधुसूदन अर्याल र विष्णुबहादुर थापा (केन्द्रीय कार्यालय) लाई प्रदान गरिने भएको छ।
अर्याल र थापा २०५१ सालदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत छन्। सङ्गठनको बिहीबार बसेको बैठकले राससको ६१औँ वार्षिकोत्सवका अवसरमा आज उनीहरूलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिए। पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ।
हाल जोशी शपिङ सेन्टर रहेको नयाँसडक निवासी पूर्वव्यवस्थापक स्व आदित्यध्वज जोशीको घरबाट २०१८ साल फागुन ७ देखि राससको कार्य प्रारम्भ भएको थियो। पूर्वव्यवस्थापक स्व जोशीको नामबाट २०६६ मा स्थापित उक्त पुरस्कारबाट यसअघि राजु शाक्य, फिरुराम चौधरी, ध्रुवभक्त श्रेष्ठ, बलबहादुर विश्वकर्मा, मदन गौतम, शम्भुप्रसाद यादव, रमेश मिश्र, स्व पवित्रा गुरुङ, कृष्णप्रसाद शर्मा, भोलानाथ पौडेल, रामभगत बुढाथोकी, मङ्गलबहादुर जलाहारी, न्हुछेराज बज्राचार्य, सागुरसिंह राना, जगतकृष्ण श्रेष्ठ, रजनी बज्राचार्य, तीर्थप्रसाद भट्टराई र रामलाल श्रेष्ठ, विष्णुप्रसाद लामिछाने, हरि बास्तोला, दीपराज सञ्न्याल र राजेशकुमार श्रेष्ठ सम्मानित भईसकेका छन्।