भैरहवा - हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ। यहाँ उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आले लागिपरेका छन्।