काठमाडौँ - आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ का लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।
उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ। एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।
नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा (एमाले) लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १ः३० को समय निर्धारण गरिएको छ। अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।