काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय टोली आज काठमाडौं आइपुग्दैछ। बंगलादेश टोली राती ९ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ दशरथ रंगशालमा हुनेछ। कम्बोडियासँगको मैत्रीपूर्ण खेल खेलेर बंगलादेश टोली सिधै काठमाडौं आएको हो। बिहीबार भएको खेलमा बंगलादेशले कम्बोडियालाई १-० ले हराएको थियो। नेपाल र बंगलादेश झण्डै १ वर्षपछि एकअर्काको सामना गर्दैछन्।
गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा यी टोलीबीच भेट भएको थियो। त्यो खेल १-१ को बराबरी गरेपछि नेपाल साफ च्याम्पिनयसिप इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो। बंगलादेश भने चौथो स्थानमा रहँदै च्याम्पियनसिपबाट बाहिरिएको थियो।
त्यसअघि २०७७ को चैतमा दशरथ रंगशालामा भएको थ्री नेसन्स कपमा भाग लिन बंगलादेश नेपाल आएको थियो। कीर्तिस्तान यू-२३ को सहभागिता रहेको च्याम्पिनयसिपमा नेपाल र बंगलादेशले फाइनल खेलेका थिए। फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको थियो। त्यसअघि राउन्ड रोविनमा यी २ टोलीले गोलरहित बराबरी खेलेका थिए।
फाइनलमा १ गोल र विशाल राईको गोलमा एसिस्ट गरेको सन्जोक राई भने यसपटक टोली नै अटाएनन्। ४ गोलकिपर राख्दै कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईले बिहीबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए।