काठमाडौं । गण्डकी प्रदेशका मन्त्री तथा समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही सिफारिस गरेपछि गण्डकी प्रदेशसभाका सभामुखले पत्र पढेर उनलाई पदमुक्त भएको घोषणा गरेका छन् ।
गत ०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा देवकोटासहित नेपाल समाजवादी पार्टीका प्रतिनिधिहरू माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिह्नमा चुनाव लडेका थिए । त्यही आधारमा माओवादीले देवकोटा आफ्नो संसदीय दलको सदस्य रहेको र उनले पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।
त्यसविरुद्ध आफू समाजवादी पार्टीको सांसद रहेको र विश्वासको मत दिन स्वतन्त्र रहेको दाबीसहित देवकोटाले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनले आफूले निर्वाचन आयोगमा बुझाएको मनोनयनपत्रदेखि सम्पूर्ण कागजात नेसपाकै रहेको, निर्वाचन आयोगको दस्तावेज र नेपाल सरकारबाट प्रकाशित राजपत्रको अभिलेखमा पनि नेसपा रहेको र गण्डकी प्रदेशसभाले रिटपूर्वकको अभिलेखमा पनि नेसपा नै भनेर उल्लेख भएको उनको दाबी छ ।
गण्डकी प्रदेशसभाले प्रकाशित गरेको सांसदहरूको टेलिफोन डायरी र आफूले पाएको परिचयपत्रमा समेत नेपाल समाजवादी भनेर उल्लेख भएको भन्दै निर्वाचन आयोगको व्यक्तिगत विवरण फारममा समेत नेपाल समाजवादी पार्टीकै नाममा सुरक्षित रहेको उनको दाबी छ ।
प्रमाण ऐन २०३१ ६ (ग) ले सरकारी अभिलेखले सुरक्षित दस्तावेजलाई प्रमाणका रूपमा स्वीकार गरेको दाबी गरेका छन् । देवकोटाले आफ्नो दल कुनै दलको छाँया दल नभएको भन्दै आफूलाई नेसपाबाहेक अन्य माअोवादी केन्द्र वा अन्य दलले कारबाही गर्न नसक्ने दाब गरेका छन् ।
उनले आफ्नो दलको सदस्य नै रहेको व्यक्तिलाई गरेको कारबाही कानुनसम्मत नभएको भन्दै अन्तरिम आदेशबाट तत्काल कार्यान्वयनमा रोक लगाउन माग गरेका छन् ।