काठमाडौँ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ।
दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो।पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउनलगायत प्रभावका बाबजुद ब्रेक थ्रु गर्न सफल भएको हो।
केही दिनअघि आयोजनाको मुख्य सुरुङको सफलतापूर्वक ब्रेक थ्रु गरेसँगै यतिबेला त्यहाँ ढलानकार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए। उनले भन, “हाेमीले सुरुङ छेड्ने काम पूरा गरेका छौँ, यो ठूलो उपलब्धि हो, अब ढलानकार्य अघि बढिसकेकाले आगामी चार महिनाभित्रमा ढलानसमेत सम्पन्न गर्ने लक्ष्य छ।”
यस आयोजनाले आगामी सात–आठ महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ। उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको विद्युतगृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान भइरहेको आयोजनाले जनाएको छ। त्यस्तै, गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पुर्याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माण भइरहेको छ। एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ।
आयोजनाका प्रबन्ध निर्देशक रायमाझीले भने, “हामीले सबै निर्माण सम्पन्न गर्दै यही पुसभित्रमा बिजुली उत्पादन गर्ने भने पनि विविध कारणले आगामी असारभित्रमा बिजुली उत्पादन गर्ने कार्यतालिका छ।