काठमाडौँ - पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा स्थान विशेषका विभिन्न कृषि उपकरणहरु वितरण गरेको छ।
बत्तीस थान मिनिटिलर, सात थान धान तथा गहुँ झार्ने थ्रेसर, पाँच थान पशुका लागि चारो बनाउने च्यापकटर, पाँच थान कोदो चुट्ने मिलिट थ र दश थान प्लास्टिकका टनेल वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले कृषि विकास समितिका संयोजक काले गोलेको संयोजकत्वमा सो सामग्री वितरण गर्नुभएकोे कृषि शाखाका प्रमुख निमराज गिरीले जानकारी दिए। अध्यक्ष लामाले गाउँपालिकाले २०७४ सालदेखि नियमित रूपमा कृषि उपकरण वितरण गर्दै आएकाले अहिले उत्पादन वृद्धि भएको बताए।
उनले खेती प्रणालीलाई आधुनिक र व्यवस्थित गर्न सकेमा अझै धेरै उत्पादन वृद्धि हुने जिकिर गरे। अध्यक्ष लामाले दुई दशमलव पाँच प्रतिशतका दरले उत्पादन वृद्धि भएको जानकारी दिँदै करिब पाँच वर्षको अवधिमा पालिकाले ११० थान मिनिटिलर, २५ थान धान–गहुँ झार्ने थ्रेसर, २५ थान पशुहरुका लागि चारो बनाउने च्यापकटर, २० थान कोदो चुट्ने मिलिट थ्रेसर, २५० थान प्लास्टिक टनेल, २५ थान साना सिँचाइका लागि प्लास्टिकका पोखरी, साना सिँचाइ पाइप आदि सामग्रीहरु अनुदानमा वितरण गरिसकेको जानकारी दिए।
आफ्नो कार्यकालामा करिब ७५ वटाभन्दा बढी कृषि फर्म दर्ता भई व्यवसायमा जुट्न गाउँपालिकाबाट विभिन्न अनुदान कार्यक्रमहरु नियमित गर्दै आएको र व्यावसायिकीकरणमा जुटेका किसानलाई कृषि वस्तुको उत्पादनलाई वृद्धि गर्न तथा बजारीकरणलाई सुनिश्चित गर्न विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष लामाले विगतमा पशुपालन किसानले भोगेका दुःखलाई दृष्टिगत गर्दै पशु बीमा कार्यक्रम सञ्चालन गरिएकाले उनीहरुको जोखिम न्यूनीकरण हुनाका साथै घरमै पुगी प्राविधिकहरुले बीमा गरिदिने र पशुवस्तुमा भएको क्षतिको बीमा रकम भुक्तानी गर्दै आएको बताएका छन्।