राष्ट्रिय फुटबल टिमका दुई युवा खेलाडी अस्ट्रेलिया पलायन

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनीहरु दुवैजना आइतबार अष्ट्रेलिया प्रस्थान गरेका हुन्।

सन्तोष र दर्शन जुन पहिलो साता कुवेतमा भएको एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय नेपाली टोलीमा रहेका थिए। युवा मिडफिल्डर सन्तोषसँगै फरवार्ड दर्शन सुनौलो भविष्य र आफ्नो भविष्य सुनिश्चित गर्नका लागि अष्ट्रेलिया गएका हुन्।

घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएका सन्तोष मिडफिल्डमा निकै प्रभावशाली मानिन्छन्। सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलको ८१औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। सन्तोषले नेपालका लागि १६ क्याप जितेका छन्।

दर्शनले २०७७ कार्तिक २८ गते बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा परिवर्तित खेलाडीको रुपमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनी ६८औं मिनेटमा रवि शंकर पासवानको स्थानमा मैदान छिरेका थिए।

घरेलु फुटबलमा ‘ए’ डिभिजनको न्यूरोड टिम (एनआरटी) का कप्तान रहेका दर्शन कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्ने खेलाडी हुन्। उनले गत महिना एसियन कपको छनोटमा कुवेतविरुद्ध गोल गर्न सफल भएका थिए। ४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए। त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल रहेको थियो। दर्शनले नेपालका लागि ६ क्याप जित्दा १ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

पछिल्लो समय अष्ट्रेलिया नेपाली खेलाडीको गन्तव्य बन्दै आएको छ। यसअघि राष्ट्रिय टोलीकै सदस्य सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन्। मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजित श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका बिमल बस्नेत पनि अष्ट्रेलियामै रहेका छन्।

राष्ट्रिय टिममा पर्दापर्दै पनि खेल्न छोडेर कोही विदेश तिर लग्नुले नेपालमा खेल र खेलाडीको अवस्था कस्तो छ भनेर देखाएको छ। राष्ट्रिय खेलाडीको यस्तो अवस्था छ भने, अझ घरेलु प्रतियोगिता मात्र खेल्ने खेलाडीहरूको अवस्था अझ गाह्रो रहेको छ।

देशका लागि खेल्दै आएका खेलाडी पलायन रोक्न खेल सङ्घदेखि सरकारसँग कुनै ठोस योजना छैन। राष्ट्रिय स्तरका खेलाडी नै पलायन हुनु राष्ट्रका लागि निकै दुःखद कुरा हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×