काठमाडौँ - सब्सिच्युट फरवार्ड जेमी भार्डीले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित गरेको हो।
टर्फ मुर बर्नलेमा मंगलबार राति भएको खेलमा लेस्टरको जितमा सब्सिच्युट फरवार्ड जेम्स म्याडिसन र जेमी भार्डीले गोल गरे। घरेलु टोलीलाई लगातार दवावमा राखेपनि लेस्टरले गोलको लागि दोस्रो हाफमा सब्सिच्युट फरवार्डको साहरा लिनुपरेको थियो।
८२औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई १–० को अग्रता दिलाए। ७२औं मिनेटमा युरी टिलेमान्सको स्थानमा मैदान छिरेका म्याडिसनले जेमी भार्डीको पासमा गोल गर्न सफल भएका थिए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको जित पक्का गरे। ७२औं मिनेटमा पाटसन डाँकाको स्थानमा मैदान छिरेका भार्डीले हार्भे बार्नेसको पासमा गोल गर्न सफल भएका थिए।
यो जितसँगै लेस्टर २४ खेलबाट ३० अंक जोडेर १२औं स्थानमा उक्लिएको छ। समान ३० अंक नै रहेपनि लेस्टर गोल अन्तरमा क्रिस्टल प्यालेसभन्दा पछि र एस्टन भिल्लाभन्दा अघि छ। क्रिस्टलले दुई तथा भिल्लाले एक खेल बढी खेलेको छ।
लेस्टरसँगको हारसँगै बर्नलेलाई रेलिगेसन दवाव बढेको छ। बर्नले २५ खेलबाट २१ अंक जोडेर १८औं स्थानमा रहेको छ।