काठमाडौँ - हङकङ ५४ वर्षपछि पहिलोपटक एएफसी एसियन कप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ। एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘बी’ अन्तर्गत प्यालेस्टाइनले फिलिपिन्सलाई पराजित गरेपछि समूह ‘डी’ बाट हङकङ मूख्य प्रतियोगिताको लागि छनोट भएको हो।
हङकङ एक खेल अगावै एसियन कपका लागि छनोट भएको हो। हङकङले अब भारतविरुद्ध खेल्ने तालिका रहेको छ। यता प्यालेस्टाइन र फिलिपिन्सबीचको नतिजासँगै भारतपनि एसियन कपका लागि छनोट भएको छ।
समूह ‘डी’ अन्तर्गत हङकङ र भारत दुवैले समान २/२ खेलमा जित हात पारेका छन्। छनोट अन्तर्गत समूह चरणमा हङकङ र भारत कम्तिमा पनि उत्कृष्ट ५ उपविजेतामध्ये पर्ने भएपछि दुवै टिम एसियन कपका लागि छनोट भएका हुन्।
यसअघि हङकङले सन् १९६८ मा एसियन कपमा छनोट भएको थियो। यता भारत भने लगातार दोस्रो पटक एसियन कपमा छनोट भएको हो। यसअघि सन् २०१९ मा पनि भारतले एसियन कप खेलेको थियो।