'पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपाली महामन्त्री उठ्छु' -सहमहामन्त्री डा. महत

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेपाली कांग्रेसमा आजसम्म आफूले निष्ठा र इमानदारीपूर्वक कर्तव्य वहन गर्दै आएको बताउँदै सहमहामन्त्री डा. महतले महामन्त्रीमा आफूले उठ्ने घोषणा गरेको बताएका हुन्। नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री रहेका उनले संविधानसभा सदस्य रही संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम गरेका छन्।

पार्टीभित्र सर्वसम्मति हुन नसक्दा कतिपय निर्णयहरू समयमा हुन नसकेको बताउँदै उनले भने, 'कतिपय सङ्गठनात्मक काममा सुस्तता पनि आयो। पार्टीमा आफ्नो पक्षमा बहुमत भए पनि बहुमतबाट नभएर सबै निर्णयहरू सहमतिबाटै गर्न खोज्दा र पार्टीलाई एकताबद्ध बनाइराख्न खोज्ने क्रममा कतिपय काम समयमा हुन सकेका छैनन्। र पार्टी एकढिक्का भएर नै हामी महाधिवेशनमा जाँदैछौँ। र पार्टीप्रति सधैँ निष्ठावान र इमानदारीपूर्वक कर्तव्य वहन गरेको हैसियतले यसपटक मैले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको छु।'

उनीसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीका रूपमा काम गरेको अनुभव छ। आफ्नो पार्टी तथा सार्वजनिकरूपमा समसामयिक एवं राजनीतिक विचारहरू राख्नसक्ने स्पष्ट वक्ताका रूपमा डा. महत परिचित छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×