काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रुपा चौधरीले छाउगोठमा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अछामको पञ्चदेव विनायक नगरापालिकामा किशोरीमाथि बलात्कार गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका हुन् ।
उनले भनिन्, ‘सभामुख महोदय, अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मामा घरमा बसेर पढ्दै गरेकी १६ वर्षकी किशोरी अस्ति राती छाउपडी गोठमा मामा नाता पर्ने १७ वर्षका यूवकबाट बलात्कृत भएको सूचना प्राप्त भएको छ । आज ति यूवकसहित समाज र परिवार पनि त्यतिकै दोषी छन् । दोषीलाई कडा भन्दा कडा कारवाही गरेर पीडितलाई न्याय दिनका लागि म सभामुख महोदयमार्फत सरकारलाई आग्रह गर्न चाहान्छु ।’
प्रारम्भिक अनुसन्धानका क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएका थिए । आरोपित १७ वर्षीय किशोरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले बिहान किशोरी बेहोस अवस्थामा रहेको थाहा पाएको र छानबिन सुरु गरेको थियो । किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने अनुमान गरिएको छ ।