काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ६ असारमा हुने चुनावका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ समूहले शक्ति प्रदर्शन गरेको छ।
शुक्रबार ललितपुरको हिमालय होटलमा नेम्वाङ समूहले उम्मेदवारी घोषणा गरेको हो। एन्फाको निर्वाचन साधारण सभा असार ६मा हुँदैछ। अध्यक्ष पदका लागि नेम्वाङले उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिएका छन्।
यस्तै यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले पनि नेम्वाङको समूहमा खुलेका छन्। तटस्थ देखिएका एन्फाका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठसमेत नेम्वाङ समूहमा खुलेर प्रस्तुत भएका हुन्। शुक्रबार गरिएको उम्मेदवारी घोषणा कार्यक्रमको सभापतित्व श्रेष्ठले गरेका हुन्।