काठमाडौँ - र्याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई पहिर्याइएको मुकुटमा विवाद समाधान भएको छ। काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले आज बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरेका छन्।
रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए।
बौद्ध धर्ममा यस्तो मुख: (मुकुट) बज्राचार्यहरूको पूजामा गुरुहरूले पञ्चअभिषेक दिँदा लगाइदिने परम्परा रहेको छ। तर, एउटा सांगीतिक कार्यक्रममा धार्मिक महत्त्वको मुकुट दुरुपयोग गरिएको भन्दै विवाद उत्पन्न भएको थियो।
यस विषयमा हिजो महानगरपालिकामा मेयरसहितको छलफल भएको थियो। उक्त छलफलमा मेयर साहले जानेर-नजानेर गल्ती भएको स्वीकार्दै यसलाई सच्याउने प्रतिबद्धता जनाएका थिए। त्यसैअनुरूप आज थँ हिति ज्याथास्थित छुस्या बहा: मा आयाेजत एउटा कार्यक्रममा बालेन्द्र स्वयम्ले गुरु देय थ:पा लाई मुकुट हस्तान्तरण गरेका हुन्।