एजेन्सी। बलिउड अभिनेता आदित्य पञ्चोली अहिले एक विवादमा मुछिएका छन्। चलचित्र निर्माता साम फर्नान्डिजले अभिनेता आदित्य पञ्चोली विरुद्ध दुर्व्यवहार आरोप लगाउदै उजुरी हालेका छन्। त्यसैगरि अभिनेता पञ्चोलीले पनि उजुरी हालेका छन्। एएनआईका अनुसार मुम्बईको जुहू पुलिस स्टेशनमा चलचित्र निर्माता साम फर्नान्डिजले पञ्चोलीविरुद्ध धम्की दिएको, दुर्व्यवहार गरेको र होटलमा हमला गरेको आरोप सहित उजुरी दर्ता गराएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार आदित्य पञ्चोलीले साम फर्नान्डिसलाई चलचित्र ‘हवा सिंह’ मा छोरा सुरज पञ्चोलीलाई अनुबन्धित गर्न दबाब दिइरहेका थिए। चलचित्रको घोषणा सन् २०१९ मा गरिएको थियो। सो चलचित्रमा सुरजलाई मुख्य भूमिकामा देखिने जनाइएको थियो। चलचित्र एक भारतीय हेवीवेट बक्सरको जीवनीमा आधारित रहने जनाइएको थियो। कोरोना महामारीका कारण चलचित्रको छायांकन स्थगित भएको थियो।
लगानीकर्ताहरुले चलचित्रमा लगानी नगर्ने भएपछी चलचित्र निर्माण कार्य अन्यौलमा परेको हो। साम फर्नान्डिसले बताए 'मैले सूरजसँग कुरा गरेँ, जसले आफैँले हामीलाई अर्को अभिनेतासँग अगाडि बढ्न आग्रह गरे। तर, सुरजलाई नै राखेर आदित्य पञ्चोलीले फिल्म पूरा गर्न केही पैसा दिए तर त्यो पर्याप्त भएन। यो फिल्म एक भारतीय हेवीवेट बक्सरको बायोपिक हो र यसलाई बनाउन हामीलाई करिब २५ करोडको बजेट चाहिएको थियो। सोही विषयमा विवाद भएको हो।