यू-२० एसियाकप छनोटमा नेपालीको लगातार दोस्रो हार

काठमाडाैँ - बहराइनमा जारी एएफसी यू-२० एसियाकप छनोटमा नेपाली युवा टोली लगातार दोस्रो हार भोग्न बाध्य भएको छ।

सोमबार राति शेख अलि बिन मोहमद अल खलिफा स्टेडियममा भएको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ३-१ ले पराजित भएकाे हाे। यसअघि नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो।

खेलमा नेपालले पहिलो हाफमा २ गोल खाँदा दोस्रो हाफमा १ गोल खाएको थियो भने एक गोल उपहारका रूपमा पाएको थियो।

खेलकाे ३० औँ मिनेटमा मोहमद मन्सुर अलीले कतारका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले टिमका लागि दोस्रो गोल गर्दा ६० औँ मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३-० को अवस्थामा पुर्‍याएका थिए।

३ गोलको अग्रता बनाएको कतारका लागि ७६ औँ मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे पनि कतार ३-१ ले विजयी बन्यो। जितसँगै कतारले ३ अंक जोडेको छ। लगातार २ खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। समूह ‘बी’ मा नेपाल अंक तालिकाको पुछारमा छ।

समूहमा आयोजक बहराइनसँगै, नेपाल, भुटान, कतार र बंगलादेश छन्। अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै, अन्तिम खेलमा नेपालले बंगलादेशसँग आइतबार खेल्नेछ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसिया कपमा स्थान बनाउने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×