काठमाडौँ - ९५औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा सहभागिताका लागि नेपाली फिल्मको आवेदन खुला भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो।
अस्करमा आफ्नो फिल्म पठाउन इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन सक्नेछन्।
९५औं अस्कर अवार्ड २०२३ मार्च १२ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा प्रदान गरिने आयोजकले जनाएको छ।हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष २ महिना पछाडि धकेलिएको थियो।
अघिल्लो वर्षहरुमा झैँ यो साल पनि फिल्म हलसँगै स्ट्रिमिङ साइटमा रिलिज भएका फिल्मले अवार्डमा सहभागिता जनाउन सक्नेछन्। योसँगै महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका फिल्मले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन्।
यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र बुझाउनु पर्नेछ। त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी स्थापित स्ट्रिमिङ साइट वा भिडियो अन डिमान्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन्।