चितवन । ध्रुवे हात्ती, यो नाम नसुन्ने कमै होलान् । ५ वर्ष अघि यस हात्तीले नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको खबर हामीले सुनेकै हौँ ।
करिब ५ वर्ष शान्त रहेको ध्रुवे हात्तीले फेरी पनि चितवनमा आतङ्क मच्चाउन थालेको छ । ध्रुवे आक्रमक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर आवत जावत गर्ने नागरिकमा त्रासको सृजना भएको छ ।
केहि वर्ष शान्त बसेको उक्त हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट शनिबार राती ११:२० बजे नेपाली सेनाको एक जवानको मृत्यु भएको छ । साँझ करिब ७ बजे चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा साइकल गस्तीमा निस्किएका ती जवानलाई ध्रुवे हात्तीले आक्रमण गरी कुल्चिँदा उनको मृत्यु भएको हो ।
हात्तीले कुल्चिएपछि घाइते भएका जवान भरतपुर अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा उनको राति ११:२०मा मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन ।
ध्रुवेले घटनाको अघिल्लो दिन गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको निकुञ्जले जानकारी दिएको छ।