काठमाडौँ। कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित भएको खेल शनिबार हुने भएको छ। त्यो खेलसँगै लिगको नवौं चरणका खेल सम्पन्न हुनेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको हो। खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। यसअघि यो खेल माघ २ गतेका लागि तय भएको थियो। तर, च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो ।
पुलिस र च्यासल दुवै टोलीले यो सिजनमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पुलिस ८ खेलबाट ७ अंक जोडेर ११औं स्थानमा रहेको छ। च्यासलले लगातार खराव प्रदर्शन गर्दा ८ खेलबाट ५ अंक जोडेर रेलिगेसन खतरासहित १३औं स्थानमा रहेको छ।