काठमाडौँ - स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ। घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन्। पाँच वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन्। तीमध्ये कावासोती नगरपालिकाले समेत पाँच वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, वडा कार्यालयको भवन, फोहरमैला व्यवस्थापन केन्द्र र वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माणलगायत काममा प्रगति हासिल गरेको छ।
कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले आफ्नो कार्यकालमा ६४ दशमलब ५ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिए। करिब १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति र नगरका विभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडकमर्मत गरिएको उनले बताए। उनले भने, “सडक पूर्वाधार निर्माणले ग्रामीण भेगको पहुँच बजार र राजमार्गसँग सहज रुपमा भएकाले यसले हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ।”
यसैगरी, करिब ६७ दशमलब ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरी ९५ वटा कल्भर्ट निर्माण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ।