काठमाडौँ - २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्ने फिल्मको छायांकन यसै वर्षभित्र सुरु गर्ने तयारी छ।
अभिनेता विनय श्रेष्ठले फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिएका छन्। फिल्मको प्रमुख भूमिकामा अघिल्लो शृंखलाका प्रमुख कलाकार हुनेछन्। विनयसहित मेनुका प्रधान, कार्म, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया फिल्मका कलाकार हुन्।
पहिलो भागलाई प्रणव जोशीले निर्देशन गरेका थिए। तर दोस्रो श्रृंखलामा जोशीको निरन्तरताबारे एकिन भइसकेको छैन। माधव वाग्लेको निर्माण रहेको फिल्म विनयको कम्पनी भी मोक्सन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो।
फिल्मको गीत ‘पिरतीको छाता ओढाउँला’ ब्लकबस्टर गीत थियो जसले टिकटक नभएको त्यो समयमा पनि दर्शकको मुखैमा झुण्डिएको थियो। उक्त गीत हिट भएपछि सिक्वेलमा पनि त्यस्तै हिट गीत खोज्ने दबाब निर्मातामाथि छ।
फिल्म रिलिजको भोलिपल्ट आएको विनाशकारी भूकम्पले फिल्मको व्यापारलाई प्रभावित तुल्याए पनि ओपनिङ विस्फोटक थियो।