बागलुङमा करोडौको लगानीमा जिमखाना खोलियो

बागलुङ - सहरीया युवालाई लक्ष्य गरी यहाँ जिमखाना खोलिएको छ। व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याएका हुन्। शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ।

सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए। “संरचना निर्माण र जिमखानाका सामग्री किन्दा एक करोड जति खर्च भयो”, उनले भने, “यसमा कार्डियो र जिम गरेर दुई कक्ष छन्।”

मोटोपन घटाउने पेटको कसरतका लागि छुट्टै व्यायामशाला छ। शारीरिक सुगठनका खेलाडीदेखि सर्वसाधारणले जिमखानाबाट लाभ उठाउन सक्छन्। दूरसञ्चार रोड नजिकमा जिमखाना रहेको छ। जिमखाना आउन चाहानेका लागि भर्ना खुला गरिएको छ। २० जना भर्ना भइसकेर आइतबारदेखि नियमित व्यायाममा आउन थालेका छन्।

सुरुमा भर्ना शुल्क रु एक हजार तोकिएको छ। प्रतिव्यक्ति महिनाको रु दुई हजार, तीन महिनाको रु पाँच हजार, छ महिनाको रु १० हजार र एक वर्षको रु २० हजार शुल्क राखिएको सञ्चालक खड्काले जानकारी दिए।

अरूको जिमखानामा जाँदाजाँदै आफैँ लगानी गरेर जिमखाना खोल्ने सोच पलाएको सञ्चालक खड्काले उल्लेख गरे। कोभिड–१९ ले निम्ताएको बन्दाबन्दी ताका खड्काले खाली रहेको आफ्नै जग्गामा जिमखानाका लागि संरचना निर्माण गरेका थिए।

व्यायामका सामान आउन ढिलाइ भएपछि जिमखाना सञ्चालन पनि पछाडि धकेलिँदै आएको थियो। “जिमको सामान सबै आधुनिक छ, सबै चीनबाट आएको हो”, उनले भने, “महिला, पुरुष दुवैका लागि मिल्ने व्यायामका सामान छन्, त्यहीअनुसार सिकाइन्छ।”

सहरीया जीवनशैली, खानपान आदि कारणले स्वास्थ्य जटिलता थपिँदै जान थालेपछि मानिसले शारीरिक व्यायामतर्फ ध्यान दिन थालेका छन्। कोही ‘मर्निङ वाक’मा निस्कन्छन्, कोही खेलकुदमा रमाउँछन्। कोही जिमखाना धाउँछन्।

जिमखानामा विशेष गरी युवाको आकर्षण बढ्दै गएको देखेपछि लगानीको जोखिम उठाएको सञ्चालक खड्काको भनाइ छ। यहाँ योसँगै अरु दुईवटा जिमखाना पनि सञ्चालनमा छन्। त्यसमध्ये एउटा धेरै पुरानो हो। नागरिकको स्वास्थ्यलाई दृष्टिगत गरी नेपालका कतिपय स्थानीय तहले सार्वजनिक जिमखाना पनि खोलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×