काठमाडौँ - अस्ट्रेलियाविरुद्धको खेलका दौरान घाइते भएका फ्रान्सका रक्षक लुकास हर्नान्डेजको घुँडाको चोटको सफल शल्यक्रिया भएको छ। हर्नान्डेजको क्लब बायर्न म्युनिखले बिहीबार उनको इन्सब्रकमा एन्टेरियर लिगामेन्ट क्रुज (एसीएल)को सफल शल्यक्रिया भएको पुष्टि गरेको हो।
विश्वकपअन्तर्गत बुधबार राति साविक विजेता फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले पराजित गर्दा हर्नान्डेजले एसीएलमा चोट बोकेका थिए। यही चोटका कारण उनी विश्वकपबाट बाहिरिएका थिए।
हर्नान्डेज चोटका कारण फ्रान्सले गुमाएको पाँचौँ खेलाडी हुन्। विश्वकप सुरु हुनुअघि चोटकै कारण पाउल पोग्बा, एन्गोलो कान्टे, करिम बेन्जेमा, क्रिस्टोफर एन्कुकु विश्वकपबाट बाहिरिएका थिए।
बायर्नले हर्नान्डेजेको शल्यक्रिया सफल भएको जनाए पनि उनी कति समयसम्म आराममा बस्छन् भन्नेबारे केही खुलाएको छैन। यद्यपि, हर्नान्डेजले पूरा २०२२-२३ को सिजन गुमाउने अनुमान गरिएको छ।