काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा निर्वाचनको वातावरण तयार हुँदै गएको भन्दै पार्टीका सबै जनवर्गीय सङ्गठनहरुलाई निर्वाचन अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्।
उनले मुलुक निर्वाचनमय बन्दै गएको र अबका केही समयमै स्थानीयदेखि सङ्घीय संसद्कै निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा लाग्न पार्टीका सबै जनवर्गीय सङ्गठनका नेतृत्वलाई निर्देशन दिएका छन्। पार्टीको जनसङ्गठन समन्वय संयन्त्रको आज यहाँ बसेको बैठकमा उपाध्यक्ष पौडेलले फागुन मसान्तभित्र सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन सम्पन्न गर्न पनि निर्देशन दिए।
उनले सङ्गठनहरुलाई चुस्त दुरुस्त राख्न निर्देशन दिँदै पार्टीका सबै जनसङ्गठनहरु कार्यकर्ता उत्पादन गर्ने नर्सरी भएकाले पार्टीको नीति र नेतृत्वसँग मेल खानेगरी अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।
उपाध्यक्ष पौडेलले पार्टीका जनसङ्गठनहरु वैचारिक र साङ्गठनिक हिसाबले स्पष्ट हुनुपर्ने बताउँदै केही कमीकमजोरी भएमा सच्चाएर अघि बढ्न आग्रह पनि गरे। सो कार्यक्रममा महासचिव शङ्कर पोखरेल र यस संयन्त्रका संयोजक भानुभक्त ढकालले सङ्गठन परिचालनका विविध विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
एमालेको सो बैठकमा जनसङ्गठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी थिए। हालै चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनपछि जनसङ्गठन समन्वय संयन्त्रको आज पहिलो बैठक बसेको थियो।