धनगढी - गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई ४-३ गोलले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो।
लुम्बिनीको जितमा नीरज चौधरीले २ र फागुराम थारु र विनोद केसीले १-१ गोल गरेका थिए। गण्डकीका राजकुमार कुँवरले २ र विजय श्रेष्ठले १ गोल गरेका थिए। खेलको ११ औं मिनेटमै लुम्बिनीका नीरजले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसको ४ मिनेटपछि फागुराम थारुले खेलको १५ औं मिनेटमा १ गोल थप्दै लुम्बिनीलाई २-० ले अगाडि बढाए।
२५ औं मिनेटमा गण्डकीका राजकुमार कुँवरले १ गोल फर्काएका थिए। त्यसपछि फेरि लुम्बिनीको तर्फबाट विनोद केसीले ३६ औं मिनेटमा थपेको १ गोलले गण्डकी ३-१ को अवस्थामा पुग्यो।
दोस्रो हाफलगत्तै गण्डकीका विजय श्रेष्ठले १ गोल थप्दा खेल ३-२ को स्थितिमा अगाडि बढ्यो। गण्डकीकै राजकुमार कुँवरले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै ६१ औं मिनेटमा खेल बराबरीमा पुर्याए। लुम्बिनीबाट ७१ औं मिनेटमा नीरजले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोलको योगदान दिएका थिए।
अब लुम्बिनीले उपाधिका लागि कर्णाली प्रदेशसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको छ। पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।