काठमाडौँ - घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टि-२० शृंखला अन्तर्गत तेस्रो टि-२० खेलमा नेपालले आइतबार ४ विकेटको जित निकालेको छ. टि-२० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको भ्रमणकारी टोली नेपालले टेस्रो खेलमा ४ विकेट जित निकाल्दा शृंखलामा २-१ को अग्रता लिएको छ।
केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले निर्धारित २० ओभर सकिन ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि राष्ट्रिय टोलीमा पुनरागमन गरेको अनुभवि ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाएका थिए।
ज्ञानेन्द्रले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। ज्ञानेन्द्र म्यान अफ दि म्याच चुनिए। यस्तै डेब्युट्यान्ट अर्जुन साउदले ३१ बलमा २ चौका र ३ छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको पारी खेल्दा रोहित पौडेलले १८ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाउँदै पवेलियन फर्किए।
ओपनर पवन सर्राफले १२ बलमा ३ चौका र १ छक्कासहित २० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले सम्झनलायक ब्याटिङ गर्न सकेनन्। केन्याका भिराज पटेल र इयुगेने ओचिएन्गले समान २ विकेट लिँदा कोलिन्स ओबुयाले एक विकेट लिएका थिए।
यसअघि टस जितेपछि ब्याटिङमा आएको केन्याले रकिप पटेल र इर्फान करिमको अर्धसतकीय पारीको सहयोगमा पुरै ओभर खेलेर १ सय ५६ रन जोड्न सफल भएको थियो। अर्धसतक बनाउने क्रममा केन्याका रकिप पटेलले ४३ बलमा ७३ रनको पारी खेल्दा इर्फान करिमले ४७ बलमा ५५ रन र कोलिन्स ओबुयाले १४ रन बनाएका थिए।
२ विकेट निकाल्ने क्रममा नेपालका आदिल अन्सारी र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो। शृंखलामा चौथो टि-२० खेल सोमबार हुनेछ। ५ खेलको टि-२० शृंखला पछि नेपालले केन्यासँग ३ एक दिवसीय खेल खेल्ने छ।