छायांकन सेटमा दुर्घटना भएपछि ‘अवतार’ अभिनेत्री केट विन्सलेट घाइते

काठमाडौँ - क्रोएसियामा छायांकन भइरहेको ऐतिहासिक फिल्म ‘ली’को सुटिङ सेटमा भएको दुर्घटनामा हलिउड अभिनेत्री केट विन्सलेट घाइते भएकी छिन्। उनलाई अस्पताल भर्ना गरिएको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ।

छायांकन सेटमा चिप्लिएर दुर्घटना भएको र उनलाई चोट लागेको छ। घटनालगत्तै नजिकको अस्पतालमा लगिएको र स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख गरिएको छ।

आउँदो सातादेखि उनी छायांकन सेटमा फर्कने योजना छ। ‘उनी चिप्लिएर लडिन् र पूर्वसतर्कताका लागि उनलाई अहिले अस्पतालमा राखिएको छ। ठीक भएपछि उनी छायांकनमा फर्कनेछिन्।’

४६ वर्षीया ओस्कार अवार्ड विजेता अभिनेत्रीले उक्त फिल्ममा युद्ध संवाददाताको भूमिका चित्रण गर्नेछिन्। फोटोग्राफर ली मिलरको जीवनमा यो फिल्म आधारित हुनेछ।

एलेन कुरासले निर्देशन गरिरहेको फिल्मको प्रमुख चरित्रमा मेरियन कोर्टिलार्ड, जुड ल, एन्ड्रिया राइजबर्ग र जोस ओ कनरको प्रमुख भूमिका रहेको छ। आगामी साता रिलिज हुन लागेको फिल्म ‘अवतारः द वे अफ वाटर’मा समेत विन्सलेटको मुख्य भूमिका रहेको छ।

७ पटक उनी ओस्कारमा मनोनित भएकी छिन्। नेपाली दर्शकले चाहिं विन्सलेटलाई उनको चर्चित फिल्म ‘टाइटानिक’ एक्ट्रेसको रुपमा चिन्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×