नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र सहरमा फैलाइएका हल्लाले देश कब्जा भइसकेको जस्तो भ्रम सिर्जना गरिएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा बोल्दै उनले दशकौँको त्याग, तपस्या र निष्ठा बोकेकाहरूलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए।
प्रचण्डले सामाजिक सञ्जालमा प्रस्तुत गरिएजस्तो प्रतिकूल अवस्था देशमा नरहेको जिकिर गर्दै जनतामा अहिले पनि नेकपा र पार्टी एकताप्रति सकारात्मक भावना रहेको दाबी गरे। सूचना प्रविधिको स्वामित्व र प्रभाव प्रतिक्रियावादी शक्तिको हातमा रहेकाले त्यसको दुरुपयोग भइरहेको उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालमै रमाएर नेपाल कब्जा गरेको ठान्ने प्रवृत्तिविरुद्ध जनता एकजुट हुनुपर्नेमा जोड दिए। कार्यक्रममा रुकुम पूर्वदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका नेता केशव रावलले राष्ट्र, कम्युनिस्ट पार्टी र नेकपाको चुनाव चिह्न ‘तारा’ अंकित झण्डा प्रचण्ड र माधव नेपाललाई हस्तान्तरण गरेका थिए।