काठमाडौँ । भक्तपुरका गरीब, असहाय, अनाथ तथा विपन्नहरुलाई लक्षित गर्दै यस वर्षको अन्तसम्म विभिन्न रोगको निःशुल्क उपचार गरिने भएको छ।
मध्यपुर थिमि–३, कौशल्टारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालले विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा सुरु गर्ने भएको छ। गरीब, असहाय, अनाथ तथा विपन्न वर्गलाई लक्षित गर्दै विभिन्न रोगको विशेषज्ञ चिकित्सकद्वारा सेवा दिने भएको हो। अस्पतालले यही मङ्सिर १५ गतेदेखि ‘एक बार एक सेवा’ दिने लक्ष्यका साथ सात दिन सात रोगको उपचार सेवा निःशुल्क प्रदान गर्न लागेको अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए। अस्पतालले प्रत्येक आइतबार हाडजोर्नी तथा नसारोग, सोमबार सर्जरी र न्युरो, मङ्गलबार जनरल फिजिसिएन र स्त्रीरोग, बुधबार बालबालिकाका लागि बालरोग, हाडजोर्नी तथा नसारोग र न्युरो रोग ,बिहीबार नाक, कान तथा घाँटी र न्यूरो, शुक्रबार मुटु रोग, एवम् शनिबार मधुमेह रोगका सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ।
अस्पतालले उपचारमा सबैको पहुँच पुर्याउने ध्येयले विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिए।