काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोशिएशन मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई प्रदर्शन गर्दा बल प्रयोग नगर्न आग्रह गरेका छन्।
नेपाल बार एशाशिएसनको जारी आन्दालेनमा कानून व्यवसायीहरू सर्वोच्चको मूलगेटबाट न्यायालयभित्रै छिरेर हुलदंगा गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। हिजो प्रहरी र आन्दोलनकारीबीच भएको घम्साघम्सीमा केही कानून व्यवसायी र केही प्रहरीहरूसमेत घाइते भएका हुन्। हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्दे प्रधानन्यायाधीश राणाले हरेक समस्याको समाधान शान्तिपूर्ण र विधिवत ढंगबाट गर्नुपर्नेमा जोड दिँदै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामनासहित सहमतिमा आउन पुनः आग्रह गरेका छन्।
जबराले मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिँदै बारको आन्दोलनमा कुनैपनि किसिमको प्रहरी हस्तक्षेप हुन नदिन र उनीहरूको वैयक्तिक स्वतन्त्रता प्रकट गर्न दिन सुझावसमेत दिएका छन्। यसैगरी, अन्य न्यायाधीशहरूले पनि मुख्य रजिष्ट्रार कुँवरलाई हिजोको पूर्ण बैठक पछि सुझाव दिँदै झडपको वातावरण सिर्जना हुने अवस्था नआउने गरी प्रहरी परिचालनमा ध्यान दिन भनेका छन्। साथै, न्यायाधीशहरूले कानून व्यवसायी र प्रहरीबीच भएको दोहोरो झडपमा घाइते भएका प्रहरी र कानून व्यवसायीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
सर्वोच्च स्रोतका अनुसार न्यायालयभित्रै कानून व्यवासयीहरूबाट प्रदर्शनका नाममा असाध्यै तल्लो स्तरको गाली गलौज र अश्लिल शब्द प्रयोग गरी अदालतको झ्याल ढोका तोडफोड गर्ने प्रयास गरेपछि उनीहरूलाई रोक्न प्रहरीलाई संयतिम ढंगबाटै परिचालन गरेको प्रतिक्रिया दिएको छ।