काठमाडौँ - म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन्।
सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ। सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महङ्गोमा भाडामा लगाउने प्रवृत्ति बढेको बेनीका पहलबहादुर खत्रीले बताए। “नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अतिक्रमण भएको सार्वजनिक जग्गा हटाउने कार्यमा अग्रसर बनेका छैनन्”, उनले भने, “सार्वजनिक जग्गा संरक्षण गर्नुको साटो भाडामा लगाउने गरिएको छ।”
बेनी नगरपालिका–१० पात्लेखेतको आरसीयुपीको भवन धवलागिरि बोर्डिङ स्कुलले भाडा नतिरी प्रयोग गरेको छ। बेनीको क्याम्पस चोकको जग्गा पुरानो खोल्साले ओगटेको छ। त्यस क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन्। बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ। कालीपुलस्थित बालमन्दिर आधारभूतको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुम्वासी र अव्यवस्थित बसोबासीको नाममा अतिक्रमण भएको छ।
खाद्य संस्थानबाट किनेका जग्गा र बेनी नगरपालिकालाई दिएको चार आना जग्गाको भवन पनि व्यक्तिको कब्जामा छ। अख्तियारले निर्देशन दिए पनि गलेश्वरको रिभरसाइड होटल र हाडेभिरमा कुलदीप जुग्जालीले मोटरेबल पुल अतिक्रमण गरेर बनाएको टहरा हटाउन बेवास्ता भएको छ। पर्वत–बेनी जोड्ने झोलुङ्गे पुल र न्यूरोड पछाडिको प्रकाश माविको जग्गा पनि अतिक्रमण भएको छ। बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाएका छन्।
स्थानीवासी कुलदीप जुग्जालीले खेर गएको जमिन नगरपालिकालाई भाडा तिरेर संरक्षण गरेको बताए।