काठमाडौँ। नेपाली चलचित्र ‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के. खनालको आउँदो चलचित्र ‘परस्त्री’का लागि अडिसन लिइने भएको छ। मुख्य भूमिकाका लागि कोशिश क्षेत्री अनुबन्धित भइसकेको चलचित्रको लागि अन्य एक अभिनेता र दुई अभिनेत्री अडिसनबाट छानिनेछ। अडिसनका लागि आफ्नो प्रोफाइल संसारभरबाट पठाउन सकिनेछ।
निर्माण कम्पनी डि.एस डिजिटलको विज्ञप्ति अनुसार २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्र र २० देखि २५ वर्षभित्रका अभिनेत्रीका लागि अडिसन आह्वान गरिएको छ। अडिसन दिन इच्छुक कलाकारले dsdigital17@gmail.com मा प्रोफाइल पठाउनु पर्नेछ। छनौटमा परेकालाई मात्र अडिसनको लागि बोलाइने निर्मात्री शर्मिला पाण्डेले जनाएकी छिन्।
सुरज पाण्डेको निर्देशन रहने चलचित्र एक विवाहित पुरुषको परस्त्रीसँगको प्रेमसम्बन्धमा आधारित रहनेछ। चलचित्रको छायांकन फागुन तेस्रो साताबाट सुरु हुने जनाइएको छ।