काठमाडौँ - फिफा विश्वकप २०२२ कतार सुरु हुने केहि साता मात्र बाँकी रहेको अवस्थामा बेल्जियन फरवार्ड रोमेलु लुकाकु घाइते हुन पुगेका छन्।
इटालियन क्लब इन्टर मिलानले एक विज्ञप्ति जारी गर्दै लुकाकुले ह्यामस्ट्रीङमा चोट बोकेको जनाएको छ। शनिबार सिरी ए अन्तर्गत साम्पडोरियाविरुद्ध लुकाकु खेलको अन्तिम २० मिनेट मैदान प्रवेश गरेका थिए। तर उक्त खेल दौरान नै उनले चोट बोक्न पुगे।
जारी सिजन चोटकै कारण लुकाकुले इन्टरको १२ खेल गुमाइसकेका छन्। २९ वर्षीय फरवार्डले विश्वकपमा बेल्जियमको आक्रमण जिम्मेवारी सम्हाल्ने आँकलन गरिएको थियो। तर प्रारम्भिक परिक्षणले उनी विश्वकपबाट बाहिर हुने सम्भावना रहेको छ।
इन्टरले केहि दिनमा पुन: उक्त चोटको अवस्था हेर्ने जानकारी दिएको छ। त्यसपछि मात्र उनको विश्वकप खेल्ने वा नखेल्ने टुंगो लाग्नेछ। हाललाई भने उनी इन्टरको च्याम्पियन्स लिग खेलका लागि उपलब्ध रहने छैनन्।