काठमाडौँ - वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा सर्वोच्च अदालतमा हड्ताल भएपछि बस्न नसकेको संवैधानिक इजलास करिब पाँच महिनापछि आज गठन भएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो। इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ। न्यायपरिषद्ले तोकेका न्यायाधीशहरूबाट संवैधानिक इजलास गठन हुने भएकाले गोला तान्न नपर्ने सर्वोच्च प्रशासनले जनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध वरिष्ठ न्यायाधीश र बारको आन्दोलनपछि संवैधानिक इजलास बस्न सकेको थिएन। कामु प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासबाट सत्ता गठबन्धनसँग गाँसिएका मुद्दाहरू टुंगो लगाउने सौदाबाजीसहित राणामाथि महाअभियोग लगाइएको आशंका भइरहेका बेला संवैधानिक इजलास गठन भएको हो।
शुक्रबारको इजलासमा भने राजनीतिक मुद्दाहरू छैनन्।
साभार : नेपालप्रेस