काठमाडौँ - गएको बिहीबार रातिदेखि परेको भारी हिमपातले यहाँका अग्ला डाँडा सेताम्मे बनेका छन्।
पर्वतको लेखफाँट, शालिजा, बनौं, भुकताङ्ले, देउपुर, पञ्चासे, डहरेदेउराली, क्याङ, चिसापानी, गोल्र्याङलगायत ठाउँमा भारी हिमपात भएको छ।शुक्रबार दिनभरजसो वर्षा र हिमपात भयो भने शनिबार बिहानदेखि मौसममा सुधार आएसँगै हिउँ खेल्न जानेको लर्को लागेको हो। सदरमुकाम र आसपासका गाउँदेखि हिउँ खेल्न आउनेको लर्को नै लागेको स्थानीयवासीले बताएका छन्।
कतिपय आफ्नै सवारीसाधन लिएर त कतिपय गाडी रिजर्व नै गरेर भए पनि हिउँ खेल्न आएको जलजला गाउँपालिका–९ बनौंका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए। उनका अनुसार शनिबार बनौमा मात्रै सयौं सवारीसाधनमा मानिस हिउँ खेल्न आएका थिए। यो हिउँ झण्डै एक सातासम्म नपग्लने भएकाले खेल्न आउनेको सङ्ख्या अझै बढ्ने उनको भनाइ छ। शनिबार बिदाको दिन परेकाले हिउँ खेल्न आउनेको सङ्ख्या अत्यधिक रहेको पुनले बताए।
त्यस्तै, लेखफाँटको फलामेडाँडा, क्याङको हलहले, पञ्चासे क्षेत्रमा पनि आसपासका गाउँ र सदरमुकाम कुश्मा, बागलुङ तथा पोखराबाट समेत हिउँ खेल्नका लागि आउनेको सङ्ख्या उल्लेख्य रहेको थियो। हिउँ खेल्ने, तस्बिर खिचाउने र टिकटक बनाउने पारखी बढी मात्रामा हिउँ खेल्न गएको स्थानीय बुद्ध पुनले जानकारी दिए। सामाजिक सञ्जालमा समेत हिउँ खेलेका तस्बिर र टिकटकले भरिएको पाइएको छ।
पर्वतमा हरेक वर्ष उच्च पहाडी भेगमा हिउँ पर्ने गर्दछ। वर्षमा एकपटक मात्र हिउँ पर्ने भएकाले पनि हिउँ खेल्न जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ।