आईएसएलमा केरला ब्लास्टर्सको विजयी सुरुवात

काठमाडौँ - इन्डियन सुपर लिग फुटबलको नयाँ सिजनमा केरला ब्लास्टर्सले विजयी सुरुवात गरेको छ। लिगको नवौं सिजनको पहिलो खेलमा ब्लास्टर्सले इस्ट बङ्गाललाई ३-१ ले हराएको हो।

केरला ब्लास्टर्सका लागि बैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका इभान कालियुझानी २ गोल गरेका थिए। ब्लास्टर्सका गोलकिपर प्रभुसुखान गिलले पनि राम्रो प्रदर्शन गरेका थिए। कोच्चिस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको उद्घाटन खेलमा दुवै टोलीको पहिलो हाफ बराबरी खेलेका थिए। दोस्रो हाफमा ४ गोल निस्किएको थियो।

खेलको ७२ औं मिनेटमा एड्रियन लुनाको गोलबाट केरला ब्लास्टर्सले खाता खोलेको थियो। लुनाले हरमनजोत खबरको लामो पासलाई उत्कृष्ट शैलीमा रोकेर इस्टबङ्गालको गोलपोष्टमा पुर्‍याएका थिए। लुनाले यो गोल आफ्नी छोरीलाई समर्पण गरेका छन्। उनको छोरीको यसै वर्ष विरामी भएर निधन भएको थियो।

खेलको ८०औँ मिनेटमा दुवै टोलीले प्रतिस्थापन गरेका थिए भने ब्लास्टर्सका लागि इभान कालिउज्नाई मैदानमा आएका थिए। ८३औं मिनेटमा इभानले ईस्ट बङ्गालका ३ डिफेन्डरलाई छल्दै गोल गरेका थिए। तर ८७ औं मिनेटमा ब्लास्टर्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै इस्ट बंगालले एलेक्स लिमाको गोलमा अग्रता २-१ मा झारेको थियो।

८८औं मिनेटमा इभान कालिउज्नाईले गोल गर्दै ब्लास्टर्सलाई ३-१ को अग्रता दिलाएका थिए। यो जितसँगै केरला ब्लास्टर्सले ३ अंक जोडेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×