काठमाडौँ - माछापुच्छ्रे गाउँपालिकाका दुई वडालाई जोड्ने गरी पक्की मोटरेबल पुल निर्माण सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयबाट माछापुच्छ्रे–२ र ३ जोड्ने गरी सेती नदीमाथि पुल निर्माण गर्न लागिएको हो। मोटरेबल सो पुलको आज प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरे। प्रदेश सरकारको रु. १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग गत साउन २५ गते ठेक्का सम्झौता गरिएको पूर्वाधार कार्यालयका प्रमुख महेन्द्र बानियाँले जानकारी दिए। उनका अनुसार सम्झौताका मितिले दुई वर्ष वि.सं. २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुवैतर्फ डेढ मिटर फुटपाथसहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ।
पुल निर्माणपछि माछापुच्छ्रेको उत्तरी भेगसहित पोखरा महानगरपालिका–१९ का नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ।