काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरुहुनेछ । लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा अर्को जितको खोजीमा हुनेछ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ ।
यता थ्रीस्टार पनि पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ ।
थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ र शेर्पाका युगल किशोर राई दुबै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छन् । थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।