काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह समूहका ३३ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्दै नयाँ पदाधिकारीको टुङ्गो लगाएको छ। तर उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट भने केन्द्रीय सदस्यको नाम अझै अन्तिम टुङ्गो लाग्न सकेको छैन।
आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले बालेन पक्षबाट वरिष्ठ नेतासहित २६ जना र विवेकशील साझाबाट ७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो। बालेन पक्षबाट वरिष्ठ नेताको जिम्मेवारी स्वयं बालेन शाहले सम्हाल्ने भएका छन् भने महामन्त्रीमा इञ्जिनियर सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाह चयन हुने पक्का भएको छ। लम्साल बालेनका पूर्वाधार सल्लाहकार तथा शाह उनका स्वकीय सचिव हुन्।
एकता सहमतिअनुसार उनेपालाई एक वरिष्ठ उपसभापति, एक सहमहामन्त्री, एक सहप्रवक्ता तथा २१ जना केन्द्रीय सदस्यको हिस्सा दिइएको छ। वरिष्ठ उपसभापतिमा ऊर्जा मन्त्रीसमेत रहेका कुलमान घिसिङ चयन हुने भएका छन् भने सहमहामन्त्रीमा जितराम लामा टुङ्गो लागेको छ। सहप्रवक्तामा डा. राजु थापाको सम्भावना रहेको छ।
उनेपाले पाउने २१ जना केन्द्रीय सदस्य छनोटका विषयमा अहिले कुलमान समूह आन्तरिक छलफलमा जुटेको छ। एक नेताका अनुसार सोमबार बेलुकासम्म नामावली टुङ्गो लागेर पार्टीमा बुझाइनेछ।
पुस १४ गते रास्वपा र उनेपाबीच सात बुँदे एकता सहमतिमा हस्ताक्षर भए पनि समानुपातिक बन्दसूची, नेताहरूको व्यवस्थापन तथा संघीयता र गणतन्त्रसम्बन्धी वैचारिक स्पष्टताबारे असन्तुष्टि देखिएको थियो। तर पछिल्ला दिनमा दुवै पक्षबीच सैद्धान्तिक र वैचारिक विषयमा सहमति भएपछि विवाद समाधान भएको नेताहरूले बताएका छन्।
पार्टी विधानअनुसार रास्वपामा १२२ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। हाल पदेन सदस्यसहित पार्टीमा ५२ जना मात्रै केन्द्रीय सदस्य छन्। एकतापछि सबै समूहलाई समेट्न उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थपिएको छ।