मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन रेशम चौधरीको निर्देशन

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

पार्टीभित्र चरम विवाद भइरहेकै बेला मंगलबार नेता चौधरीले सुदूरपश्चिम सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई आफ्नो निवास बर्दियामा चौधरीले यस्तो निर्देशन दिएका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार (भोलि) विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा नाउपामा तीव्र विवाद छ । अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रमा बनेको नयाँ गठबन्धन सरकारको पक्षमा छिन् । यसै विषयमा रेशम र रन्जिताबीच पक्षबीच पटक पटक छलफलसमेत भएको छ । तर, दुवै जनाले आफ्नो अडान छाडेका छैनन् । अध्यक्ष रन्जिताले पटक पटक सरकारमा सहभागी मन्त्रीहरुलाई समर्थन फिर्ता लिएर बाहिरिन निर्देशन दिइसकेकी छन् ।

तर, रेशम चौधरी कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनुपर्नेमा अडिक छन् । मंगलबार उनले संसदीय दलका नेतासहितका पाँच मन्त्रीलाई तत्काललाई शाहको सरकारलाई जोगाउनुपर्ने बताउँदै विश्वासको मत दिन निर्देशन दिएका थिए ।
सुदुरपश्चिम प्रदेशसभामा सात जना सांसदमध्ये पाँच जना मन्त्री छन् । नाउपा संसदीय दलका नेतासमेत घनश्याम चौधरीसहित पाँचजना मन्त्री छन् ।

चौधरी आर्थिक मामिलामन्त्री छन् भने पार्टीका प्रमुख सचेतक रहेका खुसीराम चौधरी उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छन् । यस्तै, रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, लक्ष्मणकिशोर चौधरी सामाजिक विकासमन्त्री र इन्दिरा चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री छन् । उनीहरु मंगलबार रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए ।

रेशमको निर्देशनपछि नाउपाले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ । ११ बजेको बैठकले विश्वासको मतका विषयमा छलफल गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले बताएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×