काठमाडौँ - नेपाल टेलिभिजनबाट तथा ओएसआर डिजिटलबाट प्रशारण भैरहेको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को टिमले सफलताको सेलिब्रेशन गरेको छ। शो प्रशारणको २६ भाग पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको हो।
शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताएका छन्। सुरुवातमा युट्युबमै भ्यूज नपाउँदा समस्या भएपनि अहिले हरेक शो १० लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अगाडि बढाउने बताए।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका हाँस्य कलाकार दीपकराज गिरीले भने-‘पहिलो भागमा म अतिथीको रुपमा पुगेको थिएँ। सो समयमा कलाकारहरुले मलाई हसाँउन सकेनन्। तर, अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ। यो शोमा सहभागी भाइबहिनीहरुको प्रगति देखेर खुशी लागेको छ।’
यस्तै, शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन्। उनले, शोमा काम गर्दा पारिवारिक वातावरणमा रमाइलो शैलीमा काम गर्ने गरेको पनि खुलाइन्।
‘कमेडी क्लब विथ च्याम्पियन्स’को अबको बाँकी भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। १० भागसम्म विक्कीले नै निर्देशन गरेको शोको बाँकी भाग विशालले अगाडि बढाएका थिए। तर, अब बाँकी भाग विक्कीले नै सुरु गर्नेछन्।
यो शोमा सुमन कार्की, कैलास कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिदै आएका छन्। सफलता सेलिव्रेशन कार्यक्रममा सबै कलाकारहरुले दर्शकले दिएको माया कारण हरेक साता केही नयाँ गर्न मन लाग्ने सुनाए। कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण गरेको हो । यो शो आउँदो बर्षको असार मसान्तसम्म चल्नेछ।